नेपाल तीन वटै खेल हारेर समूह चरणबाटै बाहिरियो



काठमाडौं,पुस २ । एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

योसँगै नेपाली युवा टोलीले जितविहीन हुँदै एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको यात्रालाई टुंग्याएको छ ।

दुवाईमा नै भएको एसीसी प्रिमियर कपको उपविजेता बन्दै एशिया कपका लागि छानिएको नेपालको यु-१९ टोलीले एशिया कपमा त्यहि लय कायम राख्न नसक्दा लगातार तीन खेलमा पराजय व्यहोरेको हो ।

समूह बी मा रहेको नेपाली युवा टोलीको ब्याटिङ र बलिङ दुबैमा अपेक्षित प्रदर्शन हुन सकेन् ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।

आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै मात्रै १२४ रनमा अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए ।

त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्