एमाले महाधिवेशन निर्वाचन: मतदानको गति सुस्त
काठमाडौँ,पुस २। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा साँझ ५ बजेसम्म ८०२ मत खसेको छ।
भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा बिहान ९ बजेर १२ मिनेटदेखि मतदान सुरु भएको हो। एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटसम्म समय लगाएर मतदान गरेका छन्। औसतमा एक जना मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट लाग्ने गरेको उहाँले जानकारी दिनुभयो।
निर्वाचन आयोगले साँझ ८ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने प्रतिनिधिलाई राति अबेरसम्म पनि मतदान गर्न दिने व्यवस्था गरेको छ। लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ।
महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबीच प्रतिस्पर्धा भइरहेको छ। १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ। आयोगका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिनेछ। महाधिवेशनमा कुल २ हजार २६३ मतदाता सहभागी छन्।

