श्रम संस्कृतिबाटै देशको विकास सम्भव छ : हर्क साम्पाङ
धरान,पुस २ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान र देशको समग्र विकास श्रम संस्कृतिमा निर्भर हुने बताएका छन्। श्रम संस्कृति पार्टी धरान नगर समितिले आयोजना गरेको सवारी चालक तथा मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले काम सानो–ठूलो नहुने स्पष्ट पारे।
अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने प्रवृत्तिकै कारण अपेक्षित विकास हुन नसकेको उल्लेख गरे। उनले श्रमिकको अपमान गर्दा देशको समृद्धि सम्भव नहुने भन्दै सबै प्रकारका श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। “सबैले श्रम गर्नुपर्छ, श्रमको सम्मान बिना राष्ट्रको उन्नति सम्भव छैन,” उनले भने।
उनले आगामी दिनमा श्रम संस्कृतिलाई मूलधारमा ल्याउन जरुरी रहेको बताउँदै श्रमिकमैत्री नीति र नेतृत्व आवश्यक रहेको धारणा राखे। आगामी चुनावपछि श्रमिककै प्रतिनिधित्व गर्ने प्रधानमन्त्री बन्नुपर्ने उल्लेख गर्दै विकास र निकासको एकमात्र आधार श्रम संस्कृति भएको उनको भनाइ थियो।

