एमाले महाधिवेशनमा २ हजार २२७ मत खस्यो



काठमाडौं,पुस ३ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा कुल २ हजार २२७ मत खसेको छ। महाधिवेशन स्थल काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर १२ मिनेटदेखि मतदान सुरु भएको थियो।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतदानमा सहभागी प्रत्येक प्रतिनिधिले सरदर २५ देखि ३० मिनेट समय खर्च गरेका थिए। मतदान सहज बनाउन आयोगले लाइनमा रहेका प्रतिनिधिहरूलाई टोकन वितरण गरेको थियो भने राति १२ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई बिहानसम्म मतदान गर्न दिइएको थियो।

एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि कुल ६४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

निर्वाचन आयोगका अनुसार मतदान सकिएको करिब दुई घण्टाभित्र मतगणनाको परिणाम सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्