कतार उडे जोडी हात्ती खगेन्द्रप्रसाद र रुद्रकली
काठमाडौं,पुस ३ । नेपाल सरकारले कतार सरकारलाई उपहारमा उपलब्ध गराएको एक जोडी हात्ती हिजो कतार पठाइएको छ । चितवनमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका एउटा भाले र एउटा पोथी हात्तीलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी हिजो चार्टर गरिएको विमानमा कतार पठाइएको हो । चितवनबाट भैरहवा पुर्याइएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार साँझ कतार पठाईएको छ ।
चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्तीलाई कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा पठाईएको छ । मंगलबार बिहान चितवनबाट स्थलमार्ग हुदै भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल ल्याईएका हात्तिलाई बुधबार साँझ ५ बजे कतार एयरवेजको कार्गो विमानबाट कतार पठाईएको हो ।
हात्ती हस्तान्तरणका लागि बुधबार विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुखद् बसाईको कामना गरेका थिए । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्राले नेपालले पहिलो पटक उपहार स्वरुप हात्ति दिएको उल्लेख गर्दै हात्तीदान नेपाल र कतारबीच गहकिलो सम्बन्धको प्रमाणमा रुपमा रहेको बताउनु भयो ।
कतारमा वातानुकूलित वातावरण हुने भएकाले हात्तीलाई कुनै तनाव नहुने संरक्षणकर्मीले बताएका छन् । नेपालबाट जाने दुई माहुत र एकजना भेटेरनरी प्राविधिकले एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार र रेखदेखबारे त्यहाँका नागरिकलाई सिकाउने छन् । हात्तिको स्याहार सुसारका लागि आफुहरुले कतार रहदा सम्म सबैकुरा सिकाउने उल्लेख गरेका छन् ।
हात्ती हस्तान्तरण गर्नुपूर्व कतारमा रहेको चिडियाखाना पुगेर नेपाली प्राविधिक टोलीले अध्ययन गरेको थियो । उक्त टोलीले हात्ती राख्न सकिने रायसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रहेर हस्तान्तरण गरिएको जनाईएको छ । ७ वर्षीया रुद्रकली सन २०१८ मा जन्मिएको हो । भने ६ वर्षको खगेन्द्र सन २०१९ मा खोरखोर प्रजनन केन्द्रमा जन्मिएको थियो ।

