जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु



झापा,पुस ३ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिक हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको हालसम्म सनाखत हुन नसकेको र उनी भारतीय नागरिक हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु भएको थियो। पछिल्लो समय पूर्वी तराई क्षेत्रमा जंगली हात्तीको आक्रमणका घटना बढ्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्