ओली तेस्रोपटक एमाले अध्यक्ष, अधिकांश पदाधिकारी ओली प्यानलका
काठमाडौँ,पुस ३ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा विजयी हुनुभएको हो ।
निर्वाचन परिणामअनुसार ओलीले १,६६३ मत प्राप्त गर्नुभयो भने पोखरेलले ५६४ मतमा सीमित हुनुभयो । अध्यक्ष पदमा दुई उम्मेदवारबीच १,०९९ मतको अन्तर रहेको छ ।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ सर्वाधिक मतसहित विजयी हुनुभयो । उहाँसँगै विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । महासचिवमा ओली प्यानलका शंकर पोखरेलले १,२२८ मत ल्याएर प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्नुभयो ।
उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ । सचिव पदका ९ वटै स्थानमा अध्यक्ष ओलीको प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । महेश बस्नेतले सर्वाधिक १,५४४ मत प्राप्त गर्नुभयो ।
यसरी १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना ओली प्यानलबाट निर्वाचित हुँदा पोखरेल पक्षका दुई जना मात्र पदाधिकारी बनेका छन् ।
निर्वाचित पदाधिकारीहरू
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव: शंकर पोखरेल
उपमहासचिव: लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई
सचिव: महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल

