विद्युतीय गाडी दुर्घटना, सात घाइते



हेटौंडा,पुस ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ को प्रगतिचोकमा बिहीबार भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको विद्युतीय गाडीले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा पुनः स्कार्पियो पिकअपसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा विद्युतीय गाडी, स्कुटर र स्कार्पियोमा सवार सात जना घाइते भएका छन् । तीन जनाको हेटौँडा अस्पताल र चार जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ । तीनवटै सवारी साधनमा क्षति पुगेको र प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा टाटा सुमो दुर्घटना भएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेमा ब्रेक जाम भई पल्टिएको हो । सुमोमा सवारमध्ये एक महिलालाई सामान्य चोट लागी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्