शिक्षक मृत अवस्थामा फेला



ओखलढुंगा,पुस ३ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन्। चिशंखुगढी गाउँपालिका–७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका करिब ५६ वर्षीय राजेश्वरप्रसाद साह मृत भेटिनुभएको हो।

सिराहा कर्जहना नगरपालिका–६ स्थायी घर भएका साह हाल चिशंखुगढी–७ गैरीमा भाडामा बस्दै आउनुभएको थियो। आफ्नै सुत्ने कोठाको भित्तामा अडेस लागेको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

घटनापछि प्रहरी टोली परिचालन गरिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएको छ। मृत्युको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्