बालाजुबाटै लाइसेन्सको लिखित र ट्रायल परीक्षा हुने
काठमाडौँ,पुस ४। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा अब यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि सञ्चालन हुने भएको छ । हाल नवीकरण र कर सङ्कलन गर्दै आएको उक्त कार्यालयले लाइसेन्ससम्बन्धी पूर्ण सेवा दिन परीक्षा सञ्चालनको तयारी थालेको हो ।
कार्यालय प्रमुख चेतनाथ भट्टराईका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । ट्रायल सेन्टर स्थापनाका लागि प्रस्ताव आह्वान भइसकेको र प्रस्ताव पास भएपछि लिखित तथा ट्रायल परीक्षा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार बालाजु कार्यालयलाई लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यले काम भइरहेको छ । कार्यालयबाट वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर, मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनिट्रक) तथा वर्ग ‘ग’ (ट्रक, बस र लरी) का लागि परीक्षा लिइनेछ ।
ट्रायल सेन्टरमा एकै पटक १०० जना परीक्षार्थी सहभागी हुन सक्ने लिखित परीक्षा हल रहनेछ भने दुई र चारपाङ्ग्रे सवारीको ट्रायल एउटै कम्पाउन्डबाट सञ्चालन गरिने व्यवस्था मिलाइने जनाइएको छ ।

