गोरखा सदरमुकामको मुख्य सडक जीर्ण, स्थानीयको चिन्ता
गोरखा,पुस ४ । गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालयको प्रवेशद्वारअगाडिको सडक दयनीय अवस्थामा पुगेको छ । सदरमुकामबाट गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र आरुघाट जाने मुख्य सडक खाल्टाखुल्टीले भरिँदा आवागमन कष्टकर बनेको छ ।
एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सडक मर्मत नहुँदा दैनिक सयौँ सवारीसाधन, एम्बुलेन्स, विद्यार्थी बोकेका गाडी, तीर्थयात्री तथा सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य छन् । सडकमा फलामका रडसमेत निस्किएकाले सवारीसाधन क्षति हुनुका साथै दुर्घटनाको सम्भावना बढेको स्थानीयको गुनासो छ ।
सडकको मर्मत जिम्मेवारी कुन निकायको हो भन्ने स्पष्ट नहुँदा समस्या झनै जटिल बनेको स्थानीयवासी बताउँछन् । चुनावका बेला आश्वासन दिने जनप्रतिनिधिले जितेपछि बेवास्ता गरेको आरोपसमेत स्थानीयले लगाएका छन् । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ ।
यस विषयमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले संघीय तथा प्रदेश सरकारको बजेट व्यवस्थापनमा ढिलाइ भएकाले सडक मर्मत हुन नसकेको स्वीकार गर्नुभयो । उहाँका अनुसार गोरखा नगरपालिका र सडक बोर्ड नेपालको साझेदारीमा चालु आर्थिक वर्षभित्र, चैत महिनासम्म सडक मर्मत सम्पन्न गर्ने निर्णय भइसकेको छ ।

