सुदूरपश्चिमबाट १४ महिनामा ५१ हजार युवा वैदेशिक रोजगारीमा



बैतडी,पुस ४ । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनाको अवधिमा ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आर्थिक वर्ष २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरी कुल ५१ हजार ३१ जना विदेशिएका हुन् । तीमध्ये चार हजार ३४४ जना महिला रहेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार विदेश जानेमा बैतडी, कैलाली, कञ्चनपुर र अछामका युवाको संख्या बढी छ । एक वर्षको अवधिमा बैतडीका मात्रै पाँच जना युवाको विदेशमै मृत्यु भएको तथ्याङ्क छ । आव २०८१/०८२ मा बैतडीबाट पाँच हजार २५१, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७, बाजुराबाट दुई हजार ५७८, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट एक हजार १२१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यसैबीच बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालबाट हालसम्म श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ८९ लाख ६५ हजार ३८२ पुगेको जानकारी गराइएको छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख कौशीला चन्दले सीपबिना वैदेशिक रोजगारीमा जाँदा अपेक्षित आम्दानी नहुने भएकाले सीप विकास र सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।

दशरथचन्द नगरपालिकाका रोजगार शाखा संयोजक नन्दराज जोशीका अनुसार श्रमस्वीकृति सेवा सुरु भएपछि सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा ठगीका घटना अझै रोकिएका छैनन् । चालु आवको साउनदेखि कात्तिकसम्म ५०४ जनाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा लिएका भए पनि सात वटा ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

वैदेशिक रोजगारीले देशका ७८ प्रतिशत घरधुरीले विप्रेषण पाउने अवस्था बनेको छ । आव २०८१/०८२ मा मात्रै १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याङ्क छ । यद्यपि वैदेशिक रोजगारीसँगै मनोसामाजिक समस्या, परिवार विखण्डन, बालबालिका र ज्येष्ठ नागरिकमा एक्लोपन, ग्रामीण क्षेत्र खालीँदै जानुजस्ता सामाजिक चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्