महाधिवेशनमा सहभागी सबैप्रति अध्यक्ष ओलीको धन्यवाद
काठमाडौं,पुस ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएकामा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले महाधिवेशनलाई पार्टीको साझा सफलता भएको उल्लेख गर्दै ‘महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन’, भन्नुभएको छ । उहाँले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध, अनुशासित र जिम्मेवार बनाएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले पार्टीपङ्क्तिमा देखिएको उत्साह र सहभागितालाई ऐतिहासिक भन्दै महाधिवेशन सफल बनाउन भूमिका खेल्ने प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ ‘सबैलाई बधाई १’ भन्दै उहाँले आगामी दिनमा पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई सङ्गठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न उपयोग गर्ने सो पार्टीले जनाएको छ ।

