पोखराबाट भारतका पर्यटकीय सहरमा सिधा उडान आवश्यक- मुख्यमन्त्री पाण्डे
पोखरा,पुस ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख पर्यटकीय सहरहरूमा सिधा उडान सुरु गर्न भारतीय राजदूतावाससहित सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । पोखरामा आयोजित ‘सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट’मा उहाँले सिधा उडान नहुँदा पोखराको पर्यटन प्रवर्द्धन अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई पर्यटनमार्फत थप मजबुत बनाउन सकिने उल्लेख गर्दै भारतीय पर्यटकका लागि सहजीकरणका प्रयास भइरहेको जानकारी दिनुभयो । पछिल्लो समय भारतीय २०० र ५०० दरका नोट चलनचल्तीमा ल्याउने सरकारी निर्णयले पर्यटन व्यवसायलाई सहयोग पुगेको उहाँको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–भारतबीचको पर्यटकीय सहकार्य विस्तारमा यस्तो भेटघाटले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

