नुवाकोटको तलेजु भवानी मन्दिर पुनर्निर्माण कार्य तीव्र
नुवाकोट,पुस ४ । नुवाकोटको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको तलेजु (तुलजा) भवानी मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको विदुर नगरपालिका–२ स्थित मल्लकालीन सम्पदा तलेजु भवानी मन्दिर चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको हो ।
चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत भूकम्पले क्षतिग्रस्त संरचना हटाई हाल जग सतह सुरक्षित बनाउने काम भइरहेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत महिना ‘भूमिको क्षमा पूजा’ गरी सात तले दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो ।
हाल जोखिमयुक्त स्थानहरूमा पिलर निर्माणसहित जग–सतह संरक्षणको काम भइरहेको छ । पुनर्निर्माण कार्यको विदुर नगरपालिकाका जनप्रतिनिधि, प्राविधिक टोली, नुवाकोट दरबार हेरचाह कार्यालय तथा चाइनिज एकेडेमीका प्रतिनिधिहरूले संयुक्त रूपमा स्थलगत निरीक्षणसमेत गरेका छन् ।

