धितोपत्र ऐन उल्लङ्घन आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ



काठमाडौं,पुस ५ । धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लङ्घन गरेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरबारे भ्रामक सूचना सार्वजनिक गरी करिब ४९ लाख १९ हजार रुपैयाँ गैरकानुनी नाफा आर्जन गरेको पाइएको छ ।

जाँचमा उनले विभिन्न टीएमएस युजर प्रयोग गरी आपसी खरिद–विक्री, आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने कारोबार र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको बोर्डले जनाएको छ ।

प्रारम्भिक प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर २०८२/०९/०४ गते काठमाडौँ महानगरपालिका–४, चुनदेवी क्षेत्रबाट अग्रवाललाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्