कूटनीतिक उपहार बने जोडी हात्ती, कतार–नेपाल सम्बन्ध थप सुदृढ



काठमाडौं,पुस ५ । नेपालले कूटनीतिक सद्भावको प्रतीकस्वरूप रुद्रकली र खगेन्द्रप्रसाद नामका जोडी हात्ती कतार सरकारलाई उपहार पठाएको छ । सन् २०१८ देखि चर्चामा रहेको हात्ती उपहार प्रक्रिया कानुनी जटिलता समाधानपछि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पूरा भएको हो । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्रबाट पठाइएका ती हात्ती हाल कतार पुगेका छन् ।

रुद्रकली सात वर्षे र खगेन्द्रप्रसाद छ वर्षे हात्तीले कतारमा नेपाल–कतार सम्बन्ध सुदृढ गर्न ‘वन्यजन्तु कूटनीति’को भूमिका खेल्ने विश्वास गरिएको छ । कतार नेपाली श्रमिकको प्रमुख गन्तव्य भएकाले यो उपहारले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

नेपालले यसअघि पनि चीन, अमेरिका, जापान, जर्मनीलगायत देशलाई गैँडा, घडियाल, बाघ र अन्य दुर्लभ वन्यजन्तु उपहार दिँदै आएको छ । सरकारका अनुसार यस्तो अभ्यासले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै जैविक विविधता संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्