मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छाड्छौ : रवि लामिछाने
चितवन,पुस ५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिल्नुपर्ने राजनीतिक दलहरू अन्तिममा मिलेरै छाड्ने दाबी गर्नुभएको छ। शुक्रबार कारागारमुक्त भएपछि भैरहवाबाट सिधै चितवनको चौबिसकोटी पुग्नुभएका लामिछानेले मिल्नुपर्ने दलहरूसँग संवाद जारी रहेको बताउनुभयो।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले भन्नुभयो, “मिल्नुपर्नेहरू जो–जो हुन्, अन्तिममा हामी मिलेरै छाड्छौँ। हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ।”
देश निर्माण नै सबैभन्दा ठूलो विषय भएको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो। “मलाई केही चाहिएको छैन। चुनाव चिह्न, झण्डा, पार्टी कार्यालय, पद—जे चाहिन्छ लैजानुस्। देश बन्नुपर्यो, व्यक्तिको कुनै ठूलो कुरा होइन,” उहाँले भन्नुभयो।
लामिछानेले सरकारले जसरी पनि निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “२४ गते जनआन्दोलन भएको हो। अब देश निर्वाचनतर्फ जानुपर्छ। जेनजीको रगतबाट बनेको सरकारले जेनजीको सपना पूरा गर्ने आँट राखोस्,” उहाँले भन्नुभयो।
रास्वपा सरकारले जेनजीका माग पूरा गराउने र समयमै निर्वाचन सम्पन्न गराउने विषयमा दृढ रूपमा उभिने लामिछानेको भनाइ छ।

