अर्थतन्त्र सुधारका लागि उद्यमी–व्यवसायी एकजुट हुन शेखर कोइरालाको आग्रह



काठमाडौँ,पुस ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

तेरापन्थ महिला मण्डल मोरङद्वारा आज आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कोभिड महामारीपछि कमजोर बनेको अर्थतन्त्रलाई माथि उठाउन राज्य र निजी क्षेत्रले काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै, सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कोइरालाले नेपाल र नेपालीको आयस्तर वृद्धि गर्न धार्मिक तथा साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकीकरण र स्वास्थ्य क्षेत्रमा खुकुलो तथा प्रोत्साहनमुखी नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो । एकदिने उक्त प्रदर्शनीमा ३२ कक्षमा विभिन्न घरेलु उत्पादनहरू प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्