प्रेस चौतारी नुवाकोटद्वारा एमालेका दुई केन्द्रीय सदस्य सम्मानित
नुवाकोट,पुस ५ । नेकपा एमालेको भातृसंगठन प्रेस चौतारी नेपाल, नुवाकोट शाखाले पार्टीका दुई नेतालाई सम्मान गरेको छ । चौतारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित नुवाकोटका केशवराज पाण्डे र विन्दा ढुंगानालाई सम्मान गरेको हो ।
निर्वाचनमा पाण्डेले एक हजार ५७१ मत र ढुंगानाले एक हजार ८०७ मत प्राप्त गरी विजयी भएका थिए । बट्टारमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु जम्कटेल, संस्थापक अध्यक्ष शरण सापकोटा र अध्यक्ष श्रीराम अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै उहाँहरूलाई सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा जिल्लामा सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारहरूले भोगिरहेका चुनौती तथा पत्रकारिताको पेशागत मर्यादा र सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो । वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणमा स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रेस चौतारी नेपालको सक्रियतालाई सराहना गरेका थिए ।

