वालिङमा कागतीले बजार नपाएपछि किसानको विकल्प खोजी



वालिङ (स्याङ्जा),पुस ६– स्याङ्जाको वालिङ नगरपालिकामा व्यावसायिक रूपमा उत्पादन भएको कागतीले बजार नपाएपछि किसानहरू वैकल्पिक उपाय अपनाउन बाध्य भएका छन्। जाडो मौसममा कागतीको दानाको माग घटेपछि किसानले कागती पेलेर रस तथा चुक बनाएर बिक्री गर्न थालेका हुन्।

वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेका अनुसार जाडोयाममा कागतीको दाना बजारमा खपत नहुँदा बिग्रिन नदिन चुक र रस बनाइएको हो। उहाँले करिब छ क्विन्टल कागतीमध्ये चार क्विन्टल कागतीबाट रस तथा चुक तयार गर्नुभएको छ। “कागती झर्न थाले पनि बजारमा बिक्री भएन, कुहाएर फाल्नुभन्दा चुक र रस बनाउनु राम्रो विकल्प भयो,” उहाँले भन्नुभयो।

कागतीको चुकको बजार माग राम्रो रहेकाले किसानले यो विधि अपनाएका हुन्। चुक प्रतिलिटर एक हजार ६०० रुपैयाँसम्म बिक्री भइरहेको छ। वालिङ–१४ अमलडाँडाका अर्का किसान यामप्रसाद पौडेलले साउनयता झन्डै आठ टन कागती बिक्री गरेको र जाडो लागेपछि बिक्री नहुँदा एक टन कागतीबाट रस निकालेको बताउनुभयो। उहाँसँग हाल करिब पाँच सय लिटर रस भण्डारणमा छ।

स्थानीय किसानका अनुसार गर्मी मौसममा कागतीको माग र मूल्य बढ्ने भएकाले भण्डारण र प्रशोधनको व्यवस्था भए राम्रो आम्दानी लिन सकिने सम्भावना छ। वालिङ–१४ र भिरकोट नगरपालिका–९ का किसानहरूले सागसब्जी, फलफूललगायत उत्पादन सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारीसमेत थालेका छन्। भौगोलिक विकटता र यातायातको सीमितताका कारण बजार पहुँच कमजोर हुँदा किसानहरू वैकल्पिक प्रशोधन र सहकारीमार्फत बिक्री प्रणालीतर्फ आकर्षित हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्