आज वर्षको सबैभन्दा छोटो दिन, शीतकालीन अयनान्त
काठमाडौँ,पुस ६ । आज वर्षको सबैभन्दा छोटो दिन परेको छ । खगोल विज्ञानको भाषामा यस दिनलाई शीतकालीन अयनान्त भनिन्छ ।
शीतकालीन अयनान्तका दिन सूर्य कर्क रेखाबाट मकर रेखातर्फ सर्दै उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । यसका कारण पृथ्वीको उत्तरी गोलार्धमा दिनको अवधि वर्षकै सबैभन्दा छोटो र रातको अवधि सबैभन्दा लामो हुन्छ ।
आज उत्तरी गोलार्धमा करिब ८ घण्टा दिन र करिब १४ घण्टा रात हुने खगोलविद्हरूले बताएका छन् । दिन र रातको अवधि देशको भौगोलिक अवस्थिति तथा समय क्षेत्र (टाइम जोन) अनुसार केही फरक पर्न सक्छ ।
शीतकालीन अयनान्तको विपरीत २१ जुनमा ग्रीष्म अयनान्त पर्ने गर्छ । उक्त दिन उत्तरी गोलार्धमा दिन सबैभन्दा लामो र दक्षिणी गोलार्धमा दिन सबैभन्दा छोटो हुन्छ ।
यसैगरी, खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रातको अवधि बराबर हुने गर्छ, जसलाई विषुव भनिन्छ ।

