गोरखा दरबार संग्रालय अबलोकन गर्ने बढे



गोरखा,पुस ६ । गोरखा सदरमुकाममा रहेको गोरखा दरबार संग्रालयले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । एकै महिनामा करिब २७ हजार मानिसले अवलोकन गरेपछि यो रेकर्ड कायम भएको संग्रालय प्रमुख जयनारायण कार्कीले बताउनु भयो ।

‘संग्रलाय खुले देखी यो वर्षको मङ्सिर महिनामा सबैभन्दा धेरैले अवलोकन गरेको हो’ उनले भने ‘मङ्सिर महिनाको २९ दिनमा मात्रै स्वदेशी तथा विदेशी गरी करिब २७ हजार मानिसले संग्रालयको अवलोकन गरेका हुन् ।’

कार्कीले उपलब्ध गराएको तथ्यांक अनुसार मङ्सिर महिनाको २९ दिनमा मात्रै २६ हजार ७१० जनाले संग्रालयको अवलोकन गरेको देखिन्छ । जसमा सबैभन्दा धेरै बिद्यार्थीहरुको सङ्ख्या रहेको छ ।

शैक्षिक भ्रमण यो सिजनमा उक्त संग्रलायमा १६ हजार २२९ जना विद्यार्थी, १० हजार १३६ जना नेपाली, ७ जना सार्क र ३३८ जना अन्य तेस्रो देशका नागरिकहरूले अवलोकन गरेका छन् ।

यो सहित यो आर्थिक वर्षको ५ महिनामा मात्रै ६२ हजार २१६ जनाले संग्रालयको अवलोकन गरेका छन् । यो तथ्याङ्कलाई केलाउँदा २९ हजार ११० जना विद्यार्थी, ३२ हजार ९९० जना नेपाली, २८ जना सार्क र तेस्रो देशका १ हजार ८८ जनाले अवलोकन गरेको देखिन्छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गएको साउन महिनामा ७ हजार २४७ जना, भाद्रमा त्यो सङ्ख्या घटेर ४ हजार ६८५ जना, असोजमा त्यो सङ्ख्या बढेर ६ हजार ११९ जना र कार्तिकमा त्यसको तेब्बर वृद्धि भएर १८ हजार ४५५ जनाले संग्रालयको अवलोकन गरेको देखिन्छ ।

संग्रालयको लेखा शाखाले दिएको जानकारी अनुसार यो आबको ५ महिनामा १३ लाख ३ हजार ५१० रुपैयाँ राजश्व आम्दानी भएको छ ।
तत्कालीन राजा राजेन्द्र विक्रम शाहको पालामा विक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरबार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपाली इतिहासमा राज परिवारले बनाएको यो नै अन्तिम दरबार हो ।

पञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरबारमा विक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रूपमा संग्रालयको रूपमा खुल्ला गरिएको हो । संग्रालय बाहिर भने करिब ३०० प्रजातिका बोट बिरुवाहरू देख्न पाइन्छ ।

दरबारको बिच भागमा रहेको १२ वटा कोठामा नेपाल एकीकरणका पिता एवं तत्कालीन राजा पृथ्वीनारायण शाहका ४४ हात १६ अंगुल लामो चिना, उनले तत्कालीन अवस्थामा लडाइमा प्रयोग गरिएका हात हतियार, दिव्य उपदेश, भाँडा बर्तनका साथै सोही बेला प्रयोगमा आएको मोहर (सिक्का–पैसा), लिच्छवि कालिन चैत्यहरूका साथै विभिन्न जातजातिलाई दर्साउने गरगहना तथा भेसभुसा र बाजागाजाहरू प्रदर्शनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्