गृहमन्त्री अर्यालद्वारा नुवाकोट कारागारको आकस्मिक निरीक्षण



नुवाकोट,पुस ६ । गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार आकस्मिक रूपमा नुवाकोटका केन्द्रीय तथा जिल्ला कारागारको निरीक्षण गर्नुभएको छ । उहाँले विदुर नगरपालिका–६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार र विदुर नगरपालिका–१ ढुङ्गेमा रहेको जिल्ला कारागारको स्थलगत अवलोकन गर्नुभयो ।

कारागारमा खाली रहेका ब्लकलाई बाल सुधार गृहका रूपमा सञ्चालन गर्ने सरकारको निर्णयअनुसार त्यसको तयारी र अवस्थाबारे जानकारी लिन गृहमन्त्री अर्याल नुवाकोट पुग्नुभएको हो । निरीक्षणका क्रममा उहाँले आवश्यक भौतिक तथा व्यवस्थापकीय सुधार गरी छिट्टै बालबिझ्याइँकर्तालाई स्थानान्तरण गरिने बताउनुभयो ।

मन्त्रिपरिषद्को पुस ३ गतेको निर्णयअनुसार १८ वर्षभन्दा माथिका बालबिझ्याइँकर्तालाई केन्द्रीय कारागारको खाली ब्लकमा र १८ वर्षभन्दा कम उमेरकालाई जिल्ला कारागारको खाली भवनमा राख्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार दुवै स्थानमा करिब पाँच सय जनासम्म बालबिझ्याइँकर्तालाई राख्न सकिनेछ ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले कैदीबन्दी र थुनुवासँग भेटघाट गर्दै उनीहरूको समस्या र गुनासा सुन्नुभएको थियो । साथै, कारागारभित्रका सबै गतिविधि कानुन र मानवअधिकारको मापदण्डअनुसार सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्