चिसोले तराईको जनजीवन प्रभावित
काठमाडौं,पुस ६ । पुस लागेसंगै तराईमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ । ह्वात्तै बढेको चिसोले विशेष गरी तराईको गरिब बस्ती बढी प्रभावित भएका छन् ।
तराईका महोतरी लगायत अधिकांश जिल्लामा बिहानदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्दा सर्वसाधारण प्रभावित भएका हुन । अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा न्यानोका लगि ‘घुर’ मात्र सहारा बनेको छ ।
आगो ताप्न दाउरा पनि नपाउने भएकाले जाडो काट्न् समस्या भएको स्थानीयको भनाइ छ । बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवा समेत प्रभावित हुन थालेका छन् । मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानको हवाइ सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ ।
यस्तै, सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँठाउँमा रोकिनु पर्ने बाध्यता रहेको छ । चिसो निकै बढेपछि खेतीपाती र व्यापार पनि ठप्प जस्तै छ । दैनिक मजदुरी गरेर छाँक टार्न पनि समस्या भएको प्रभावितहरुले गुनासो गरेका छन् ।

