रवि लामिछाने–प्रधानमन्त्री कार्की भेट, प्रतिशोध नगर्न आग्रह
काठमाडौँ,पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै विगतका सरकारले आफूमाथि गरेको राजनीतिक प्रतिशोधजस्तो व्यवहार नगर्न आग्रह गरेका छन्।
आइतबार राति बालुवाटारमा करिब दुई घण्टा चलेको भेटवार्तामा लामिछानेले निर्वाचनको तयारी ढुक्कका साथ गर्न सकिने वातावरण बनाउन र जेनजीसँग भएको सम्झौता दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
भेटवार्तापछि रास्वपाकी नेत्री सोविता गौतमले यसअघिका सरकारले गरेको अन्याय दोहोरिन नदिन आग्रह गरिएको जानकारी दिँदै आगामी निर्वाचन केन्द्रित छलफल भएको बताइन्। प्रधानमन्त्री कार्की र रास्वपाका शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा पनि संवाद भएको जनाइएको छ।

