सिन्धुली कमलामाईमा आगलागी, एक महिलाको मृत्यु, एक घाइते
सिन्धुली,पुस ७ । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्सा कोठामा आगलागी हुँदा उहाँकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो।
आगलागी देखेपछि आगो निभाउन खोज्दा दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको प्रहरीले जनाएको छ। घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो खाजा बनाउने क्रममा आगलागी भएको अनुमान गरिएको छ। घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द रहेका थिए भने मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन्।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

