दुर्गममा फोरजी विस्तारदेखि निःशुल्क वाइफाईसम्म : सञ्चारमन्त्री खरेलका तीन महिनाका ३० उपलब्धि सार्वजनिक



काठमाडौँ, पुस ७ । सरकारले दुर्गम जिल्लाका थप पाँच गाउँपालिकामा फोरजी इन्टरनेट सेवा विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो तीन महिनाको कार्यकालका ३० उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

मन्त्री खरेलका अनुसार हुम्लाका खार्पुनाथ, सर्केगाड, अदानचुली, चङ्खेली र मनाङको ङिस्याङ गाउँपालिकामा पहिलो पटक फोरजी सेवा पुगेको छ, जससँगै ७४९ स्थानीय तहमा इन्टरनेट पहुँच विस्तार भएको छ । यस अवधिमा नेपाल टेलिकमका सक्रिय ग्राहक दुई लाखले वृद्धि भएका छन् ।

सरकारले काठमाडौँ उपत्यकाका १९ र उपत्यकाबाहिर २९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाई सेवा सुरु गरेको छ । साथै ८७ वटा नयाँ वायरलेस साइट जडान, एएफटिटिएच नेटवर्क विस्तार, एनसेलमार्फत जेनजी प्याक तथा विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ ।

अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण प्रक्रिया सरल बनाइएको, एनटिभी वर्ल्ड च्यानल सुरु गरिएको, गोरखापत्रमा थप भाषामा सामग्री प्रकाशन र सञ्चारसम्बन्धी विभिन्न कानुनी तथा संरचनागत सुधार गरिएको मन्त्री खरेलले जानकारी दिनुभयो । त्यस्तै, सरकारले नयाँ मिडियालाई कानुनी दायरामा समेट्दै सहकार्य गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्