फागुन २१ को निर्वाचनका लागि मतपत्र छपाइ तयारी पूरा
काठमाडौँ, पुस ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगको निर्देशन पाउनेबित्तिकै छपाइ सुरु गर्ने गरी सबै तयारी सम्पन्न गरेको हो ।
क
ेन्द्रले मतपत्र छपाइका लागि चारवटा अत्याधुनिक छापाखाना, २५० जना जनशक्ति तथा आवश्यक कागज, मसी र मेसिनका पार्टपुर्जा जुटाइसकेको जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार आयोगसँग निरन्तर समन्वय भइरहेको र पुस १६ गतेबाट छपाइ सुरु गर्ने कार्ययोजना तयार गरिएको छ ।
पहिलो चरणमा समानुपातिकतर्फका मतपत्र छापिनेछन् । आयोगमा ९३ दलले समानुपातिक प्रणालीका लागि निवेदन दिएका छन् । केन्द्र र आयोगको अनुमान अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि करिब चार करोड थान मतपत्र छाप्नुपर्नेछ । समानुपातिकतर्फ मात्र डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र छापिने अनुमान गरिएको छ ।
मतपत्र छपाइका लागि करिब २५ करोड रुपैयाँ खर्च लाग्ने जनक शिक्षाले जनाएको छ । यसअघि पनि जनक शिक्षाले विभिन्न निर्वाचनका मतपत्र छपाइ गर्दै आएको छ ।
यता, मतपत्र छपाइका कारण विद्यालय तहका पाठ्यपुस्तक छपाइ प्रभावित नहुने केन्द्रले स्पष्ट पारेको छ । हालसम्म एक करोड २० लाख थान पाठ्यपुस्तक छपाइसकिएको र बाँकी पनि समानान्तर रूपमा छाप्ने योजना रहेको जनाइएको छ ।

