रवि लामिछाने पुनः रास्वपाको कार्यकारी सभापतिमा
काठमाडौँ,पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार सम्पन्न पार्टीको ६४ औँ केन्द्रीय कमिटी बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले आफूले सम्हाल्दै आएको जिम्मेवारी औपचारिक रूपमा लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार सभापति लामिछानेको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ तथा वैकल्पिक शक्तिबीचको सहकार्य, पार्टीका आन्तरिक गतिविधि र भावी कार्ययोजनाबारे विस्तृत छलफल भएको छ ।
बैठकमा सभापति लामिछानेले वैकल्पिक शक्तिसँग सहकार्य आवश्यक भए पनि त्यो केवल चुनावकेन्द्रित नभई समग्र देशको हितलाई केन्द्रमा राखेर हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता झाले जानकारी दिनुभयो । साथै पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउँदै राजनीतिक तथा व्यक्तिगत जीवनमा अनुशासन अनिवार्य हुने उल्लेख गर्दै कसैप्रति आक्षेप, आग्रह वा पूर्वाग्रहपूर्ण भाषाशैली प्रयोग नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

