बागमती सरसफाइमा प्रविधिको प्रयोग: नदीमा ट्रास ब्यारियर जडान



काठमाडौँ,पुस ७। बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा बग्दै आएका तैरिने फोहोर सङ्कलन गर्न विभिन्न स्थानमा ट्रास ब्यारियर जडान गरेको हो।

समितिका आयोजना उपनिर्देशक, सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी उद्धव नेपालका अनुसार बागमती नदी र यसका सहायक खोलामा तैरिने पोलिथिन, प्लास्टिक बोतल, काठका टुक्रा, कपडालगायतका फोहोर रोक्न ट्रास ब्यारियर राखिएको हो। गोकर्ण ब्यारेजमाथि, गुह्येश्वरी मन्दिरमाथि, तिलगङ्गा आँखा अस्पतालनजिक, बागमती–मनोहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभाननजिक गरी छ स्थानमा ट्रास ब्यारियर जडान गरिएको छ।
उपनिर्देशक नेपालका अनुसार ट्रास ब्यारियरले नदीको बहावमा अवरोध नपु¥याई पानीसँगै बग्ने फोहोर निश्चित स्थानमा जम्मा गराउने प्रभावकारी संरचना हो। नदीको पानीको सतह घटबढ हुँदा ट्रास ब्यारियरको सतह पनि स्वतः तलमाथि हुने भएकाले पानी बग्न समस्या नहुने उहाँले बताउनुभयो।

समितिले परीक्षणका लागि जडान गरिएको यस प्रविधि २०८२ साउन ५ गते प्रविधि इन्टरनेसनलसँग ६५ लाख रुपियाँमा सम्झौता गरी खरिद गरिएको हो। ट्रास ब्यारियरबाट सङ्कलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित व्यवस्थापन गरिने समितिको योजना छ।

यस प्रविधिको प्रयोगले नदी प्रदूषण न्यूनीकरण, नदीको सौन्दर्य संरक्षण, जलजीवको संरक्षण तथा सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। दीर्घकालीन नदी संरक्षणका लागि काठमाडौँ उपत्यकाका अन्य नदीमा पनि ट्रास ब्यारियरको प्रयोग प्रवर्धन गरिने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्