१५औँ महाधिवेशनपछि मात्र निर्वाचनमा जानुपर्छ : महामन्त्री थापा



काठमाडौँ,पुस ७। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर मात्रै निर्वाचनमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। काठमाडौँ क्षेत्र नं. ६ का पार्टी कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उहाँले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा जानु आवश्यक रहेको बताउनुभयो।

महामन्त्री थापाले महाधिवेशन टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठक अनावश्यक रूपमा लम्ब्याइएको गुनासो गर्नुभयो। उहाँले संविधानलाई सही दिशामा लैजान फागुन २१ गते निर्वाचन हुनु आवश्यक रहेको उल्लेख गर्दै त्यसको प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताउनुभयो।

“बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्छ,” भन्दै उहाँले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। जनताले भ्रष्टाचार र कुशासनको अन्त्य खोजिरहेको उल्लेख गर्दै त्यसविरुद्ध कांग्रेस दृढ भएर लाग्नुपर्ने उहाँको भनाइ थियो।

महामन्त्री थापाले कुनै पनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिको अन्त्य गर्दै कांग्रेसले जिम्मेवार राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। नागरिकमा देखिएको असन्तुष्टि र आक्रोश जेनजी आन्दोलनमार्फत प्रकट भएको भन्दै त्यसको मर्मअनुसार दलहरू सच्चिएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो। फागुन २१ मा निर्वाचन नभए देश पुनः अनिश्चिततातर्फ धकेलिने उहाँले चेतावनी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्