राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार
काठमाडौं,पुस ७ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् । कुन प्रदेशमा कति स्थानीय तह र प्रदेश जनप्रतिनिधि छन् त्यसका आधारमा निर्वाचन आयोगले प्रदेशगत मतभार निर्धारण गरेको हो ।
प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ । प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा १० हजार १ सय ३५ मतभार , मधेश प्रदेशमा १० हजार ८ सय ३९, बागमती प्रदेशमा १० हजार ३ सय ५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ ।
कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ । १ जना भने सरकारले सिफारिस गर्नेछ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

