लिखु गाउँपालिकाद्वारा अविवाहित एकल महिलाको सम्मान, समस्या र समाधानबारे अन्तरक्रिया
नुवाकोट,पुस ७ । लिखु गाउँपालिकाले ४० वर्ष नाघेका तर अझै अविवाहित रहेका एकल महिलालाई सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको महिला शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा ६ वटै वडाका अविवाहित एकल महिलाहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शुभद्रा अधिकारीले अन्य एकल महिलाले सरकारबाट केही न केही सहयोग पाउँदै आए पनि अविवाहित एकल महिलाको विषयमा पर्याप्त चासो नदेखिएको बताउनुभयो ।
उहाँले अविवाहित एकल महिलालाई पनि अन्य महिलाझैँ सीपमूलक तालिम, रोजगारी र आम्दानीका अवसर उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै गाउँपालिका त्यसका लागि तयार रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले अविवाहित एकल महिलाहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले महिलालाई सीपमूलक र आत्मनिर्भर बनाउने उद्देश्यका साथ आवश्यक सहयोग गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष नरहरी पाण्डेले अविवाहित एकल महिलाहरूले संगठित भई आफूले भोगेका समस्या र चुनौतीसँग सामना गर्दै आफ्ना हकअधिकारका लागि आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।
आयोजकका अनुसार यस कार्यक्रमले अविवाहित एकल महिलाहरूको आवाज स्थानीय तहसम्म पुर्याउन र उनीहरूका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार तयार गरेको छ ।

