फोनिजको कास्की बैठकबाट ११ बुँदे घोषणापत्र जारी, महासङ्घविरुद्ध देशव्यापी आन्दोलनको चेतावनी



कास्की,पुस ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक कास्की जिल्लाको कालाबाङ होमस्टेमा सम्पन्न भएको छ । लक्की चौधरीको अध्यक्षतामा २०८२ पुस ४ र ५ गते दुई दिनसम्म चलेको बैठकले ११ बुँदे कालाबाङ घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घविरुद्ध चरणबद्ध देशव्यापी आन्दोलनको चेतावनी दिएको छ ।

बैठकले नेपाल पत्रकार महासङ्घको महाधिवेशनले दिएको म्यान्डेटअनुसार संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेको तथा औपचारिक रूपमा संस्थापक घोषणा नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त प्रक्रिया तत्काल अघि नबढे आन्दोलनमा उत्रिने फोनिजले स्पष्ट पारेको छ ।

महासचिव समीर बलामीका अनुसार बैठकले फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, क्षमता अभिवृद्धि तथा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

घोषणापत्रमा प्रेस तथा पत्रकारमाथि हुने आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन, मातृभाषा सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्धन, प्रेस काउन्सिलद्वारा हुने वर्गीकरणमा विभेद अन्त्य, फोनिजलाई राज्यबाट सम्मानजनक व्यवहार र अनुदानको व्यवस्था गर्न पनि माग गरिएको छ ।

त्यस्तै संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका हकहित कार्यान्वयन, पहिचान आन्दोलनका समस्या संवादबाट समाधान, ग्रामीण तथा होमस्टे पर्यटन प्रवर्धनमा जोड दिइएको छ । हाल फोनिजका देश–विदेशमा ९७ शाखा समिति रहेका छन् भने ४ हजार ५ सय ६४ जना पत्रकार आवद्ध रहेको महासचिव बलामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्