नुवाकोटका ६८ विद्यालयमा सञ्चालित साक्षरता कार्यक्रम विद्यालयलाई हस्तान्तरण



नुवाकोट, पुस ७ । जिल्लाको विभिन्न स्थानीय तहमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा सञ्चालित साक्षरता सम्बन्धी कार्यक्रम सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सोमबार नुवाकोटका सात स्थानीय तहका विभिन्न विद्यालयमा सन् २०२२ र २०२३ देखि सञ्चालन हुँदै आएका कार्यक्रम औपचारिक रूपमा विद्यालयलाई जिम्मा लगाइएको हो । रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीका अनुसार तादी, लिखु, शिवपुरी, ककनी, विदुर नगरपालिका, सूर्यगढी र पञ्चकन्या गाउँपालिकाका ६८ वटा विद्यालयमा सञ्चालनमा रहेका साक्षरता कार्यक्रम हस्तान्तरण गरिएको हो ।

बट्टार बजारस्थित तामाङ प्लाजामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रसिंह ठकुरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि तथा रुडेक नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले रुम टु रिड र रुडेक नेपालको सहकार्यमा सञ्चालन भएका साक्षरता कार्यक्रमले विद्यार्थीहरूको सिकाइस्तरमा उल्लेखनीय सुधार ल्याएको बताए । नेपाली भाषा शिक्षणका लागि तालिम, पुस्तक उपलब्ध गराउने, पुस्तकालय तथा कक्षा व्यवस्थापनजस्ता कार्यक्रमले विद्यालय तहको साक्षरता सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाको भनाइ छ ।

रुम टु रिड र रुडेक नेपालले स्थानीय तहसँगको सहकार्यमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको र यसले दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्