स्थानीय तहका अध्यक्ष पारदर्शी नहुँदा विकास सुस्त : डा. केसी
नुवाकोट, पुस ७ । नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ चिकित्सक डा. केदार नरसिंह केसीले स्थानीय तहका अध्यक्षहरू पारदर्शी हुन नसक्दा विकास निर्माणका कामले अपेक्षित गति लिन नसकेको बताउनुभएको छ ।
सोमबार नुवाकोटको तारकेश्वर गाउँपालिका–स्थित दाङसिङ माध्यमिक विद्यालयको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै डा. केसीले विकासका नाममा हुने अपारदर्शी कार्यशैलीका कारण जनतामा निराशा बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले विकास र सुशासनका लागि नेतृत्व जवाफदेही र पारदर्शी हुन आवश्यक रहेको जोड दिनुभयो ।
यशोधादेवी भगवान सिंह मेमोरियल ट्रस्टका अध्यक्षसमेत रहनुभएका डा. केसीले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सोही अवसरमा ट्रस्टको समन्वयमा दाङसिङ माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आवश्यक न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।
वार्षिकोत्सब कार्यक्रममा तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, वडा अध्यक्ष चक्रबहादुर तामाङ, नेपाली कांग्रेसका नेताहरू सुनमाया तामाङ, होमबहादुर तामाङ, पालिका सभापति केशवराज अर्याल, हरि श्रेष्ठ, सुजन गजुरेल, माधबराज रिजाल, नवराज खनाललगायतले गाउँपालिका अध्यक्ष शिव अधिकारीमाथि गैरकानुनी क्रियाकलाप र भ्रष्ट आचरण गरेको आरोप लगाउँदै खुलेर विरोध जनाएका थिए ।

