धरौटीमा छुटेपछि रवि–बालेन भेट, समसामयिक राजनीतिमा छलफल
काठमाडौँ,पुस ७। सहकारी ठगी प्रकरणमा भर्खरै जेलबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल सहभागी हुनुहुन्थ्यो । उनीहरूबीच नजिकिँदै गरेको निर्वाचन, देशको वर्तमान तरल राजनीतिक अवस्था तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
लामिछाने र बालेनबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय वैकल्पिक राजनीतिक धार र स्वतन्त्र राजनीतिक अभ्यासको चर्चा भइरहेका बेला भएको यो भेटले आगामी दिनमा राजनीतिक सहकार्य वा संवादको सम्भावनाबारे चासो बढाएको छ ।

