जेनजी आन्दोलनले जलेका मिसिलमध्ये ७ हजार ५३५ सर्वोच्च अदालतमा संकलन
काठमाडौं,पुस ८ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका मिसिलमध्ये हालसम्म ७ हजार ५३५ थान मिसिल सर्वोच्च अदालतले संकलन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबारसम्म सर्वोच्च अदालत परिसरबाट ६ हजार ८१० र महान्यायाधिवक्ता कार्यालय परिसरबाट ७२५ थान मिसिल प्राप्त भएका हुन् ।
आन्दोलनअघि कायम रहेका २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका थिए । चालु मुद्दाका ४ हजार २०० मिसिल भने सुरक्षित छन् । अभिलेखका करिब १ लाख ९७ हजार मिसिल नष्ट भएका थिए ।
सर्वोच्चले मंसिर १ गतेदेखि कार्यविधि बनाएर सरोकारवालासँग मिसिल माग गर्न थालेको हो । पुस मसान्तसम्म मिसिल बुझाउन समय दिइएको छ । प्राप्त मिसिलको प्रमाणीकरण प्रक्रिया पनि सँगसँगै भइरहेको सर्वोच्चले जनाएको छ ।
आन्दोलनका क्रममा देशभरका २३ अदालतमा आगजनी र तोडफोड हुँदा चालु, अभिलेख र तहसिल शाखाका गरी झन्डै साढे नौ लाख मिसिल पूर्ण रूपमा नष्ट भएका थिए । सर्वोच्च अदालतमा मात्रै चालु मिसिलको करिब ८३ प्रतिशत जलेको थियो ।

