पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अब नियमित राष्ट्रिय खोप कार्यक्रममा



काठमाडौं,पुस ८ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोप सरकारले नियमित रूपमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघको अन्तिम साताबाट विद्यालय तहमा कक्षा ६ मा अध्ययनरत सबै बालिका तथा १० वर्ष उमेरका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सुरु गरिनेछ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपिभी खोप एक मात्रा लगाए पुग्ने, सुरक्षित र जीवनरक्षक भएको बताउनुभयो। यसअघि सरकारले नौदेखि १४ वर्ष उमेर समूहका १७ लाख किशोरीलाई एचपिभी खोप लगाइसकेको छ। खोप अभियानका लागि विद्यालय तथा विद्यालयबाहिर खोप केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित एचपिभी खोप सुरक्षित र पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी रहेकाले भ्रममा नपरी ढुक्क भएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्