सिन्धुली हत्या प्रकरण: सासू–नन्द पक्राउ
सिन्धुली,पुस ८ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मृतककी सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार पुस ६ गते दिउँसो भान्सा कोठामा सुशीलाको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थल शङ्कास्पद देखिएपछि प्रहरीले तत्काल दुवै जनालाई नियन्त्रणमा लिएको थियो। मृतकका बुबाले किटानी जाहेरी दर्ता गराएपछि ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट पेट्रोलका बोतल, लाइटर र आगो बाल्न प्रयोग गरिएको सामग्री बरामद गरिएको छ। घटनामा सुशीलाका ससुरा दुर्गामान बम्जन पनि आगोले पोलेर घाइते भएका छन् र उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार मृतक सुशीलालाई लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिइँदै आएको थियो। घटनापछि आफन्त र स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। प्रहरीले घटनाको गहिरो अनुसन्धान जारी रहेको जनाएको छ।

