निर्वाचनमा जुट्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई राष्ट्रपतिको आग्रह
काठमाडौं,पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको जुट्न प्रमुख तीन राजनीतिक दलको शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा राष्ट्रपतिले यस्तो आग्रह गर्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
“देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गाम्भिर्यतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्नेमा विशेष जोड दिनुभएको थियो

