कालीमाटीमा विषादीले भरिएको रायो साग, उपभोक्ताको भान्सासम्म पुग्यो



काठमाडौँ, पुस ९  । कालीमाटी तरकारी बजारमा थोकमा बिक्रीका लागि ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत विषादी रहेको पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले परीक्षण गर्दा ९९.०८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको हो ।

काठमाडौँ नागार्जुन नगरपालिका–रामकोटका कृषक/व्यापारी उत्तम रेग्मीले ल्याएको रायो साग परीक्षणका क्रममा अत्यधिक विषाक्त पाइएको समितिले जनाएको छ । प्रयोगशालाले बिहान साढे ६ बजे खान अयोग्य भन्दै नष्ट गर्नुपर्ने प्रतिवेदन दिए पनि त्यसअघि नै अधिकांश साग थोक बिक्री भई उपभोक्ताको भान्सामा पुगिसकेको थियो । बजारमा बाँकी रहेको करिब ४० केजी साग मात्र नष्ट गरिएको छ ।

कालीमाटीमा बिहानै तरकारी बिक्री भइसक्ने तर परीक्षण भने ढिलो हुने प्रवृत्तिका कारण यस्तो समस्या दोहोरिने गरेको सरोकारवालाहरू बताउँछन् । प्रयोगशालाका कर्मचारीको सुरक्षा व्यवस्थापन नहुँदा रातिदेखि परीक्षण गर्न नसकिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातिदेखि परीक्षण सम्भव भए खराब तरकारी तत्काल नष्ट गर्न तयार रहेको बताएको छ । विषादी समस्या देखिएको कृषक र फार्ममाथि कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पत्राचार गरिएको जनाइएको छ ।

सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष देखिएको तरकारी उपभोग गर्न नहुने मानिन्छ । तर परीक्षण ढिलाइका कारण विषाक्त तरकारी उपभोक्तासम्म पुग्ने समस्या अझै समाधान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्