सुनको मूल्य तीन लाख पुग्ने अनुमान
काठमाडौँ, पुस ९ । सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य मङ्गलबार बढेर दुई लाख ६७ हजार दुई सय रुपियाँ पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार प्रतिऔँस चार हजार ३९७ अमेरिकी डलर रहेको सुन मङ्गलबार चार हजार ४८७ डलर पुगेको छ । एकै दिन प्रतिऔँस ९० डलरले बढेको अन्तर्राष्ट्रिय मूल्यका कारण स्थानीय बजारमा पनि मूल्य उकालो लागेको व्यवसायीहरू बताउँछन् ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य आगामी दिनमा प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने सम्भावना देखिएको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस पाँच हजार डलरसम्म पुग्न सक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
महासङ्घका अनुसार पछिल्लो एक वर्षमा मात्र सुनको मूल्य तोलामा एक लाख १७ हजार छ सय रुपियाँले बढेको छ । मूल्य अत्यधिक बढेसँगै बजारमा माग घटेको र सुनको कारोबार ठप्पजस्तै भएको व्यवसायीहरूले बताएका छन् । माग नहुँदा वाणिज्य बैङ्कहरूले हाल सुन आयातसमेत रोकेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढ्दो क्रममा छ । सोमबार प्रतितोला चार हजार २३५ रुपियाँ रहेको चाँदी मङ्गलबार २० रुपियाँले बढेर चार हजार २५५ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै जाँदा चाँदीको मूल्य पनि तोलामा पाँच हजार रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ ।

