सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकता
नुवाकोट,पुस ९ । नुवाकोटको सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कुल १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्दैछ। यसमध्ये जारी पुँजीको १० प्रतिशत बराबर ६ लाख ८९ हजार ६७५ कित्ता सेयर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडावासी आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। यस्तै, १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री खुला गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आईपीओ पुस २३ गतेसम्म र ढिलोमा माघ ८ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पुस १४ गतेसम्म र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाले आयोजना स्थल, विभिन्न बैंक शाखा तथा कम्पनीको काठमाडौँस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्वा सदस्य बैंक, वित्तीय संस्था तथा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

