५८ प्रतिशत किसान विद्युतीय प्रणालीमा सूचीकृत



सरकारले देशभरका झण्डै ५८ प्रतिशत किसानलाई विद्युतीय प्रणालीमा सूचीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले सुविधा प्रवाहलाई प्रभावकारी बनाउन किसानलाई विद्युतीय रूपमा सूचीकरण गरेको हो ।

कृषि जनगणना २०७८ अनुसार देशमा ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसान सूचीबद्ध भइसकेको केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । किसानको जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको उहाँले बताउनुभयो ।

सबै किसान सूचीबद्ध भएपछि निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार वर्गमा वर्गीकरण गर्ने योजना मन्त्रालयको छ । त्यसपछि किसानलाई परिचयपत्र वितरण गर्ने, विद्युतीय प्रणालीमा जोड्ने र परिचयपत्रका आधारमा मल, बीउ, अनुदान तथा अन्य सेवासुविधा उपलब्ध गराइने जनाइएको छ ।

पालिकासँग समन्वय गरेर किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्