नुवाकोट पञ्चकन्यामा एक युवक मृत फेला
नुवाकोट, पुस १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मोक्तान टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३२ वर्षीय किशोर लामा बिहीबार बिहान सुन्तलाको बोटमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
स्थानीय दमन लामाको घरमा आगलागी भएपछि घटनास्थलमा मुचुल्काका लागि प्रहरी पुगेको समयमा उनका छोरा किशोर लामा झुन्डिएको अवस्थामा फेला परेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार मृतक किशोर लामाले केही समयदेखि मानसिक सन्तुलन गुमाएको बताइएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली घटनास्थलमा पुगेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

