मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन
विराटनगर, पुस १० । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको हो ।
व
िराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीको गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
दुर्घटनापछि तत्काल उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
मिनष थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएको थियो । उहाँ ब्याट्सम्यानका रूपमा परिचित हुनुहुन्थ्यो र केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेको परिवारले जनाएको छ ।
राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट क्षेत्र शोकमा डुबेको छ । परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन् भने उहाँ आमा तनुजा थापा र भाइ प्रदीप थापासँग बस्दै आउनुभएको थियो ।

