त्रिवि ५१औँ दीक्षान्त समारोह सम्पन्न, ८९ हजारभन्दा बढी विद्यार्थी दीक्षित



काठमाडौँ, पुस १० । त्रिभुवन विश्वविद्यालयका ८९ हजारभन्दा बढी छात्रछात्रा दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५१औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षा प्रदान गरिएको हो।

यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए। उत्तीर्णमध्ये मानविकी सङ्कायतर्फ १४ हजार ८५१, व्यवस्थापनतर्फ ४३ हजार ६१०, कानुनतर्फ २ हजार ३३५ तथा शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी रहेका छन्। तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।

दीक्षान्त समारोहमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिएको छ।त्रिभुवन विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। टोकियो विश्वविद्यालयमा आबद्ध प्राध्यापक काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए।

दीक्षान्त समारोहले उच्च शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय सहकार्य तथा विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति विश्वविद्यालयको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्