नुवाकोट तादीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, तीन दिनसम्म विद्यालयस्तरीय खेलकुद प्रतिस्पर्धा
नुवाकोट, पुस १० । जिल्लाको तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन तादी गाउँपालिका स्तरीय खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष सोनाम तामाङको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, वडा अध्यक्ष अश्मिन कुमार पाण्डे, वरिष्ठ विद्यालय निरीक्षक सन्तोष खनाल, कार्यपालिका तथा वडा सदस्यहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, गाउँपालिका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, समाजसेवी, अग्रज नागरिक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रमुख अतिथि अध्यक्ष तामाङले दिप प्रज्वलन तथा ब्यानर वाचन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच छात्र र छात्रा तर्फ भलिबल, १०० मिटर दौड, २०० मिटर दौड, रिले दौड, ज्याभलिन थ्रो र सटफुटलगायत विभिन्न एथलेटिक्स विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता मिति बिहीबार देखि शनिबारसम्म तीन दिन सञ्चालन हुनेछ ।
यस प्रतियोगिताले विद्यार्थीहरूको खेल जीवन र सिकाइलाई जीवन्त बनाउनुका साथै स्वच्छ प्रतिस्पर्धाको भावना, अनुशासन र बहुआयामिक गुण विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

